जीवन बीमा
मानिसको जीवन अमूल्य हुन्छ र त्यसलाई रकममा तौलन सकिंदैन । तर मानिसको आकस्मिक अशत्तता वा मृत्युले उसको परिवारलाई बिचल्ली पार्न सक्दछ । परिवारको कमाउने सदस्यको मृत्यु भएमा निजको आश्रित परिवारलाई जीवन धान्‍न सहज बनाउने काममा जीवन बीमाले सहयोग गर्दछ । त्यसरी नै जीवनमा कमाउने उमेर सँधै रहँदैन त्यसैले कमाउन सक्ने उमेरमा कमाएको रकममध्ये केहि रकम बचत गरि जीवन बीमा गर्दा बृद्ध अवस्थामा जीवन सहज बनाउन अतिरित्त आड भरोसा दिन्छ । त्यस्तै बालबच्चाको भविष्यको लागि जीवन बीमा महत्वपुर्ण हुनसक्छ । कर्मचारीले आफू काम गर्ने संस्थाबाट कर्जा प्राप्त गर्दा पनि कर्जाको सुरक्षण बापत जीवन बीमा गरेर भविष्यको लागि निश्‍चिन्त हुनसक्छ । सावधिक वा अग्रिम भुत्तानी जीवन बीमा कर्जा सुरक्षणको लागि प्रचलित बीमा योजना हुन् । जीवन बीमा बापतको बीमा शुल्कमा बीमांकको 7 प्रतिशत वा रु 10,000 मध्ये जुन घटि हुन्छ सो रकम करयोग्य आयमा घटाई बाँकी रकममा मात्र आयकर लाग्ने ब्यवस्था भएकोले जीवन बीमामा कर छुटको समेत सुविधा रहेको छ ।

जीवन बीमाका किसिमहरु

सावधिक जीवन बीमा 
निश्‍चित अवधिसम्ममा तोकिएको बीमा शुल्क तिर्ने गरि गरिएको जीवन बीमालाई साबधिक जीवन बीमा भनिन्छ । यसरी तोकिएको अवधिसम्म बीमा शुल्क भुत्तान गरेपछि मुनाफामा सरिक हुने गरी बीमा गराईएको भए तोकिएको एकमुष्ठ बोनस तथा बीमांक सहितको रकम बीमितलाई फिर्ता दिइन्छ । बीमाको अवधि समाप्‍त हुनु अघि नै बीमितको मृत्यु भएमा बाँकी अवधिको बीमा शुल्क तिर्नु पर्दैन, बीमांक र सो अवधिसम्मको तोकिएको बोनस एकमुष्ठ रुपमा बीमितको इच्छाएको ब्यत्ति वा हकवालालाई भुत्तान गरिन्छ । सावधिक जीवन बीमा मुनाफामा सरिक हुने गरी वा नहुने गरि गर्न सकिन्छ । संस्थानको सबैभन्दा लोकप्रिय योजनाको रुपमा यो योजना रहेको छ ।

सावधिक जीवन बीमा (दोहोरो दुर्घटना लाभ समेत)
यो सावधिक जीवन बीमा नै हो । यसमा दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमांकको साथै दुर्घटना बीमा बापतको बीमांक बराबर थप रकम समेत भुत्तानी दिइन्छ । सावधिक जीवन बीमाको बीमांक जतिसुकै भएपनि बढिमा रु 1,00,000 सम्मको बीमांक मात्र दोहोरो दुर्घटना लाभ बापत स्वीकार्य हुनेछ । दुर्घटना बाहेक अन्य रोग र कालगतीले हुने मृत्युमा यो सुवीधा दिइने छैन, 60 वर्ष उमेर नाघेका ब्यत्तिको लागि यो बीमा हुने छैन ।

आजीवन जीवन बीमा
यो जीवन बीमामा पनि निश्‍चित अवधिसम्मको लागि बीमा शुल्क निर्धारण हुन्छ । तोकिएको अवधिसम्म बीमा शुल्क तिर्नुपर्दछ । बीमितको बीमा अवधिमा नै मृत्यु भएमा इच्छाएको ब्यत्ति वा नजिकको हकवालाले एकमुष्ठ रकम प्राप्‍त गर्दछ । तर बीमितको जीवन कालमा यो बीमाको रकम बीमितले फिर्ता पाउँदैन । त्यसैले परिवारको आर्थिक सुरक्षाको लागि आदर्श बीमाको रुपमा आजीवन बीमा रहेको छ ।

अग्रिम भुत्तानी सावधिक जीवन बीमा 
यो सावधिक जीवन बीमा जस्तै जीवन बीमा हो तर तोकिएको निश्‍चित रकम तोकिएको समयमा बीचमै फिर्ता हुने भएकोले यस बीमालेखबाट थप फाइदा हुन्छ । यस बीमालाई Money Back Policy, Three Payment Plan आदि नामले अन्य बीमा कम्पनिले प्रयोग गरेका छन् । यो बीमा मुनाफामा सरिक हुनेगरी मात्र गरिन्छ । 15, 20 र 25 वर्षे गरि तीन अवधिको बीमा गरिने यस योजनामा बीमा अवधिमा 3 पटक (तर 25 वर्षमा 4 पटक) किस्तामा बीमांक फिर्ता गरिने र बोनस रकम भने बीमितले बीमा अवधि भुत्तानी भए पछि प्राप्‍त गर्दछ । 15 वर्ष अवधिमा पहिलो किस्ता बीमांकको 25%, 5 वर्ष पछि दोश्रो किस्ता 25%, 10 वर्ष पछि र अन्त्यमा बाँकी 50% र बोनस रकम बीमितलाई फिर्ता गरिन्छ । 20 वर्ष अवधिको अग्रीम भुत्तानी सावधिक जीवन बीमामा बीमालेखको अवधि 10 वर्ष भुत्तानी भए पछि बीमांकको 25% र बीमा अवधि भुत्तानी भएपछि बाँकी 50% बीमांक र पुरै आर्जित बोनस रकम बीमितलाई भुत्तानी गरिन्छ । 25 वर्षे अवधिको अग्रीम भुत्तानी सावधिक जीवन बीमामा बीमा अवधि 10 वर्ष भुत्तान भएपछि पहिलो किस्ता बीमांकको 10%, 15 वर्षमा बीमांकको दोश्रो किस्ता 15% 20 वर्षमा तेश्रो किस्ता बीमांकको 25% र बीमा अवधि 25 वर्ष भुत्तान भएपछि बाँकी बीमांकको 50% र पुरै आर्जित बोनस रकम बीमितलाई भुत्तानी गरिन्छ ।
बीमा अवधि समाप्‍त नहुँदै बीमितको मृत्यु भएमा पुरै बीमांक र आर्जित बोनस बीमितलाई प्रदान गरिने यो योजना निकै लोकप्रिय योजनाको रुपमा रहेको छ ।

बालबच्चाको शिक्षा तथा विवाह सावधिक जीवन बीमा
बालबच्चाको उज्वल भविष्यको निम्ति विवाह र शिक्षाको लागि आवश्यक रकमको जोहो गर्न यो बीमा गरिन्छ । यस बीमामा बीमितको मृत्यु भएमा बीमाको अवधि समाप्‍त भएपछि मात्र इच्छाएको बच्चाले बीमांक र बोनस एकमुष्ठ प्राप्‍त गर्दछ । तर थप बीमा शुल्क तिर्नुपर्दैन । बीमित जीवित रहेमा अवधि भुत्तानी पछि एकमुष्ठ रकम प्राप्‍त गर्दछ ।

म्यादी जीवन बीमा 
बीमितले लिएको ऋण भुत्तानी हुनु अगावै बीमितको मृत्यु भएमा बक्यौता असुल गर्ने सरल उपायको रुपमा यस बीमालाई लिइन्छ । थोरै बीमा शुल्कले ठूलो रकमको बीमा गर्न सकिने यो बीमाको मृत्यु दावी नपरेमा कुनै रकम फिर्ता नहुने र यो बीमा सामान्यतया 1 वर्षे अवधिको लागि गरिन्छ । म्यादी जीवन बीमा 2 किसिमका उपलब्ध छन् -
क) समतल म्यादी जीवन बीमा
ख) र्‍हासतल म्यादी जीवन बीमा
यो जीवन बीमा ब्यत्तिगत तथा सामुहिक दुबैको लागि उपलब्ध छ ।

सामुहिक सावधिक जीवन बीमा
कुनै पनि संघ संस्थाले आफ्ना कर्मचारीलाई कामप्रति आकर्षण पैदा गर्न र कर्मचारीको आर्थिक भविष्य सुनिश्‍चित गर्न प्रोत्साहन सुविधा स्वरुप निश्‍चित रकमको निश्‍चित अवधिसम्मका लागि समूहगत रुपमा जीवन बीमा गराउन सक्दछ । कम्तिमा 10 जना कामदार कर्मचारी भएको संस्थाले यो सुविधा उपलब्ध गराउन सक्दछ । हाल 70 वटा भन्दा बढी संस्थाले यस संस्थानमा यस प्रकारको बीमा गराएका छन् । ब्यत्तिगत बीमाको तुलनामा यस बीमामा 5% कम बीमा शुल्क लाग्ने र अन्य सर्त र सुविधा समेत थप गरिएको हुन्छ । 

     
Copyright © 2005, Rastriya Beema Sansthan